वीरगंजलाई प्रादेशिक राजधानी बनाउने आन्दोलनमा किन छैनन् मधेसी दल ?

पराजितहरुको झुण्डमा फोरम जाँदैन आवश्यक परे आफैँ नेतृत्व लिन्छ : अध्यक्ष यादव

   
295   पटक पढिएको


नवराज फुयाँल/वीरगंज, २६ पुस ।
प्रदेश नम्वर २ को अस्थायी मूकामको रुपमा जनकपुरलाई तोक्ने पूर्ण तयारी सरकारले गरिसकेको छ । अस्थायी राजधानी तय गर्न गठित समितिले दिएको प्रतिवेदन अनुसार २ नम्वर प्रदेशको राजधानी जनकपुर उपयुक्त हुने समितिले दिएको प्रतिवेदनमा भनिएको छ । समितिले सातै प्रदेशको संभावित अस्थायी मूकामका बारेमा प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो । प्रतिवेदन सार्वजनिक भएलगत्तै २ नम्वर प्रदेशको वीरगंज लगायत विभिन्न प्रदेशमा अस्थायी मूकाम आप्mनो ठाउँमा हुनुपर्ने भन्दै चरणबद्ध आन्दोलनहरु भइरहेका छन् ।  

जनकपुरलाई नभई वीरगंजलाई नै अस्थायी मूकाम तोक्न भन्दै विगत ६ दिन देखि निरन्तर रिले अनसन जारी छ । अनसनमा नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी लगायतका दलका नेता तथा कार्यकर्ता सहित स्थानीयको उल्लेख्य सहभागिता देखिन्छ ।  तर, प्रादेशीक राजधानीका लागि वीरगन्जमा हुँदै आएको आन्दोलन र प्रदर्शनमा मधेसी दलहरु संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालका प्रतिनिधि भने अझै सम्म सहभागि भएका छैनन ।  

पर्साको चारैवटा प्रतिनिधिसभामा फोरम र राजपाले नै जित हात पारेका छन् भने आठ प्रदेशसभा मध्ये ६ वटा सिट पनि फोरम राजपा गठबन्धनकैै हातमा छ । चुनावका बेला मधेसी दलका उम्मेदवारले आ–आफनो चुनावी संकल्प र प्रतिबद्धता पत्रमा प्रदेश २ को राजधानी वीरगंजलाई नै बनाउने नारा दिएर मतदातासँग मत मागेका थिए ।

तर प्रादेशीक राजधानी बनाउनका लागि वीरगन्जमा जारी रिले अनसनमा मधेसी दलका नेता, कार्यकर्ता, सांसद र विधायक कसैको पनि सहभागिता नहुनुले मधेसी दलको भूमिकामाथि आशंका उब्जिन थालेको छ । यस अघिको प्रदर्शनमा पनि मधेसी दलका प्रतिनिधिहरुको सहभागिता नहुनु र अहिले पनि उनिहरु मौन बस्नुले आशंका उब्जाएको हो ।  
वीरगंजलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भन्दै विगत लामो समयदेखि आवाज उठाउँदै आएका युवा नेता ओमप्रकाश सर्राफले मधेसी दल अहिलेको जारी आन्दोलनमा सहभागि नहुनु र ऐक्यवद्धता समेत नजनाउनुले मतदाताको मत माथी नै खेलवाड भएको आरोप लगाउछन् । हरेक मधेस आन्दोलनमा वीरगंजले निर्वाह गरेको भूमिका उल्लेखनिय रहेको र वीरगज अन्यत्र भन्दा सवल रहेको भन्दै राजधानीकालागि उपयुक्त स्थान समेत भएकाले यसको विकल्प अन्यत्र खोज्न नहुने दावी गर्छन । मधेसी दलका विधायकहरु मन्त्री र विभिन्न पदको लोभमा परेर जनताको मतलाई अवहेलना गर्दै अहिलेको आन्दोलनमा सरिक नभएको सर्राफको आरोप छ ।  यस्तै रवैया रहे यहाँका जनताले मधेसी दलका सबै जितेर गएकाहरुलाइ बहिष्कार गर्ने कार्यक्रम चलाउन बाध्य हुने पनि उनले चेतावनी दिए । 

यता फोरम नेपाल पर्साका अध्यक्ष एवं निर्वाचित प्रतिनिधिसभाका सदस्य प्रदिप यादवले वीरगंजमा भइरहेको आन्दोलनमा निर्वाचनमा पराजित भएकाहरुको झुण्ड मात्रै रहेको र उनिहरु जनतामाझ पपुलर बन्न यस्तो हत्कण्डा अपनाएको जवाफ दिन्छन् । प्रदेशको राजधानी प्रदेश सांसदको बैठकले पछि जहाँ पनि राख्न सक्ने प्रावधान रहेकाले अहिले आन्दोलन गरेर तमासा देखाउनु जरुरी नभएको उनको दावी छ । वीरगंज नै प्रादेशिक राजधानी हुनुपर्ने आफुहरुको पनि धारणा रहेको तर अहिले आन्दोलन गरेर तमासा देखाएर केही नहुने उनको भनाइ छ । यादव भन्छन् “आन्दोलन नै गर्न परे पनि फोरमले आफ्नै नेतृत्वमा सशक्त आन्दोलन गर्छ तर पराजितहरुको झुण्डमा सामेल हुँदैन ।” 

वीरगञ्जमा आन्दोलन गरे पनि कांग्रेस एमालेका नेताहरुले आफ्ना शीर्ष नेतालाई दबाब दिन नसकेको आरोप उनको छ । ‘हुत्ती छ भने कांग्रेस एमालेका नेताले काठमाडौमा गएर आफनो शीर्ष नेतालाई दबाब दिनुपर्छ ।’ यादव भन्छन् “अहिले कांग्रेसकै नेतृत्वमा सकार छ, उसैले प्रादेशको अस्थायी मूकाम तोक्दै छ, आन्दोलन गर्नुको सट्टा कांग्रेसका नेताहरु सिंहदरवार गएर दवाव दिए भयो नि किन यहाँ तमासा देखाउनु ।” प्रदेश सरकारमा वीरगंजलाई मुख्य मन्त्री र जनकपुरलाई प्रदेश राजधानी बनाउने आन्तरिक तयारी फोरमले गरेकाले राजधानीसंग मुख्यमन्त्री पद साट्न खोजेको आरोप फोरमलाई लागेको छ । तर यस्तो  कुनै तयारी आफुहरुको नरहेको जिल्ला अध्यक्ष यादव बताउँछन् ।

यता पार्टीले आधिकारिक निर्णय नगरेपनि रिले अनसनको पाचौँ दिन मंगलबार फोरम नेपालका नेता शशीकपुर मियाँ, रुदल ठाकुर, विरेन्द्र यादव, फिरोज मंसुर, सुधिरनाथ पाण्डे, रामआज्ञा कुशवाहा, प्रमोद यादव, विकास चौधरी लगायत सहभागीता जनाएका थिए । समानुपातिकबाट प्रदेशसभा सदस्यमा चयन भएकी फोरम नेतृ भीमा यादवले पनि अनशनमा सहभागीता जनाएकी थिइन् । यस अघि रिले अनसनको उद्घाटन पनि फोरमबाटै निर्वाचित भएका मेयर विजय सरावगीले गरेका थिए ।  

तर, फोरम पर्साका उपाध्यक्ष सुन्दर कुर्मीले पार्टीको निर्णय विपरित रिले अनसनमा सहभागी हुनेहरुको बारेमा पार्टी सोच्न बाध्य हुने चेतावनी दिएका छन् । अनसनमा हाम्रो पार्टीको सहभागिता छैन, कोहि आफ्नो मनले व्यक्तिगत रुपमा गएको हुनसक्छ उनिहरुको बारेमा पार्टीले आवश्यक निर्णय लिन्छ । कुर्मीको भनाइले फोरम वीरगंजलाई राजधानी बनाउने नभइ जनकपुरकै पक्षमा छ भन्ने देखाएको छ ।  

वीरगञ्जलाई प्रदेश राजधानी बनाउन माग गर्दै बनेको संघर्ष समितिका सदस्य एवं कांग्रेसका महासमिती सदस्यसमेत रहेका बाराका तरुण दलका अध्यक्ष लोकेश सिंहले प्रादेशीक राजधानीका लागि भइरहेको दबाबमुलक आन्दोलनमा सहभागी हुन पर्सा र बाराबाट सांसद र विधायकमा निर्वाचित भएका मधेसी दलका नेतालाई सहभागी हुन पटक पटक आग्रह गर्दा पनि उनीहरु सहभागी नभएको बताए । 

एमालेका नेता एंव पूर्व सांसद राज कुमार गुप्ताले पनि प्रादेशीक राजधानीका लागि वीरगन्जमा भइरहेको आन्दोलनमा मधेसी दलका नेताहरु सहभागी नहुदा आफू आश्चर्यमा परेको बताए ।  वीरगंजलाई प्रादेशिक राजधानी नबनाएसम्म आफुहरुको आन्दोलन जारी रहने र यसमा मधेसीदलले वेवास्ता गरे उनिहरुलाई समेत बहिष्कार गरेर कडा संघर्षमा उत्रने अनसनमा बसेकाहरुले चेतावनी दिएका छन् ।  

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।