संगीतका योगीको ‘भोगी’ अवतार

गायक योगेश्वर अमात्यको अफबिट जीवनशैली

   
114   पटक पढिएको

योगेश्वर अमात्य भन्ने बित्तिकै कुक्रुक्क गुजुल्टो परेर गाउने गायकको छवि आँखामा आउँछ । उनको यो गायन शैली नेपाली संगीतका पारखीहरुमाझ ‘ब्रान्ड’ नै बनेको छ ।

गायनमा शरीरका अवयव जति नै खुम्च्याए पनि यी गायक व्यवहारमा भने खुला दिलका छन्, अझ दिलदार नै भनौं । कति दिलदार भने, स्टेज कार्यक्रममा देश-विदेश पुग्छन्, कति ठाउँमा पैसा नै लिँदैनन् । केही ठाउँमा त उल्टै आफ्नै खल्तीको पैसा दिएर आउँछन् ।

सँगै गएका कलाकारहरु उनको यस्तो दिलदार व्यवहारबाट आजित हुन्छन् । संगीतकै कमाइबाट गुजारा चलाउने उनीहरु ‘योगी दाइ’ सामु गुनासो पोख्छन्-‘तपाईंले गर्दा हामीलाई समेत समस्या पर्‍यो !’

त्यतिबेला योगेश्वरसँग केही जवाफ हुँदैन ।

कला र पैसालाई टाढै राख्ने उनले कन्सर्टहरुमा जाँदा अहिलेसम्म कहाँ कति पैसा लिए, हेक्का नै छैन । गाए वापत पैसा नलिनुको कारणमा उनको आफ्नै तर्क छ,’मैले कति पैसा माग्नुपर्ने हो, मलाई मेरो मोलै थाहा भएन । कलाको भाउ राख्नै गाह्रो भएर त्यसो भएको हो ।’

उनलाई आफू त्यति राम्रो गायक हुँ जस्तो लाग्दैन । त्यसैले गाउन पाउँदा आफूले नै पैसा दिनुपर्ने हो कि भन्ने ठान्छन् ।

दिलदार गायकको यो छनकले बताउँछ, धनधान्यको हिसाबले उनलाई पुगिसरी छ । यसैले अरु गायक-गायिका जस्तो स्टेज कार्यक्रमको भोका छैनन् । मनमौजी पाराका छन् । धेरै ठाउँबाट गाउने निम्ता आइराखे पनि ठाडै नकारिदिन्छन् ।

योजना बनाएर फलानो दिन फलानो ठाउँमा गीत गाउने कुरा सोच्दा पनि उनलाई उकुसमुकुस हुन्छ ।

मुख बिगारे, ‘मलाई पहिल्यै सही गरेर यो ठाउँमा यति बजे गाउन भन्यो भने गाह्रो हुन्छ । जाँगर नै लाग्दैन । बरु रक्सी खाँदाखेरि जहाँ पनि गाइदिन्छु । पार्टीमा पनि, पौवामा पनि ।’

मदिरा र उनको मुडबीच कस्तो साइनो छ भने, पिइसकेपछि उनमा संगीतका सातै सुर सवार हुन्छन् । त्यस्तो बेला जुनसुकै ठाउँमा भए पनि गिटार ल्याउन अह्राइहाल्छन् । कतिसम्म भने, उनले पोखरा जाँदा गाडी धुने ठाउँमा पनि गिटारको सुरमा गला खोलेका छन् ।

मदिराको कुरा आएपछि योगेश्वर यससँग जोडिएका आफ्नो जीवनको किस्सा सुनाउन थाले ।

रक्सी लाग्दा देशभक्तिका गीत

योगेश्वर १९ वर्षका थिए, जतिबेला उनी पढ्नका लागि अमेरिका गए । काठमाडौंको सम्पन्न रैथाने परिवारको हुनुको नाताले त्यो सौभाग्य जुरेको थियो । उतै छँदा मदिरासँग उनको साइनो गाँसियो ।

‘मैले २१/२२ वर्षको उमेरदेखि पिउन सुरु गरेँ होला । त्यसअगाडि केही पनि खान्नथेँ’, इमानदार सुनिए ।

त्यसपछि यो तरल पदार्थको उनी अनुशासित उपभोक्ता बन्दै आए । पहिले भोड्का धेरै खान्थे, पछिल्लो समय ह्विस्कीतिर उनको मन बसेको छ । महँगोमध्येमा पर्ने सिङ्गल मल्ट ह्विस्कीका पारखी हुन् उनी ।

‘सिङ्गल मल्टभित्र पनि मेरो झुकाव चाहिँ ग्लेनफिडिकतिर छु’, आफ्नो छनोट सुनाए ।

यो ह्विस्कीको मूल्य ४० वर्ष पुरानो हुँदा साढे ३ हजारदेखि ६ हजार डलरसम्म पर्छ ।

रक्सीमा मासिक कति खर्च हुन्छ, उनीसँग निश्चित हिसाब हुँदैन । कहिले कति दिनसम्म हात लगाउँदैनन्, कहिले खाएको खायै हुन्छन् । मदिरामा हुने खर्च उनको नियमित बजेट नै हो, ‘कसैले जूवा-तास खेलेर पैसा खर्च गर्छन्, कसैले लुगा वा नयाँ गाडी किन्ला । म चाहिँ रक्सीमा खर्च गर्छु ।’

छाउनीस्थित उनको घरमा रक्सी प्रायः हुँदैन । भए पनि बोतल कहिले हो कहिले रित्तिइसकेको हुन्छ, आफैं पत्तो पाउँदैनन् ।
‘कुनै गतिलो रक्सी मेरो अगाडि छाती फुलाएर बस्नै सक्दैन । त्यो सिद्धिन्छ’, हाँसे ।

त्यसो त उनी घरमा पिउन त्यति रुचाउँदैनन् । बाहिरतिर महफिल जमाउन मन पर्ने यही ठाउँ भन्ने पनि छैन ।
विचित्रको आफ्नो स्वभाव खुलाए, ‘जहाँ एकदम राम्रो रक्सी पाइन्छ, त्यही ठाउँ राम्रो लाग्छ ।’

मदिराका पारखीहरु सितनको उत्तिकै सौखिन हुन्छन् । सितनमा पनि मासुका परिकार अनिवार्य जस्तै मानिन्छ । तर, योगेश्वर ११ वर्षयता साकाहारी छन् । तैपनि उनको गलामा मदिराको घुट्को कहिल्यै अड्किएन ।

‘मासु मात्रै कहाँ हो र सितनु, उनले मदिराको साथीबारे कहे, ‘हाम्रो नेवार समुदायमा मासु बाहेकका सितन पनि धेरै हुन्छन् नि !’

उनका श्रीमती र दुई छोराछोरी छन् । श्रीमती र छोरा युकेमा बस्छन् । श्रीमती नेपाल आउँदा उपहारमा मदिरा आएकै हुन्छ ।

जसै मदिरा उनको शरीरमा पौडिन थाल्छ, योगेश्वर पनि भावगंगामा तैरिन थाल्छन् । उनी बडो भावुक हुन्छन् र भक्कानाहरु स्वतः शब्दमा पोखिन थाल्न ।

‘रक्सी लाग्दा मलाई जहिले पनि देशभक्तिको गीत गाउन मन लाग्छ । रक्सी खायो कि कविता स्वार्रै आउँछ’, उनी भन्छन् ।

ह्विस्की बाहेक उनी बियरका पनि प्रेमी हुन् । यसले उनको दिलदेखि दिमागसम्म शीतल पार्छ । बियरले दिने रमरम आनन्दलाई उनले चंगाको उडानसँग तुलना गरे, ‘चंगा उड्दा धरती छोडेर आकाशमा ध्यानको तहमा पुगे जस्तै बियरले पनि मलाई नरमाइलो परिवेश र देशको आजको नमीठो यथार्थबाट उठाएर रमाइलो दुनियाँमा लैजान्छ ।’

उनले सबैमाझ आफ्नो पारदर्शी व्यक्तित्वको छवि बनाएका छन् । आफ्नो बारे सबै कुरा खुलेर राख्छन् । पिउने सवालमा पनि केही लुकाउँदैनन् ।

‘कति गायकहरु मभन्दा बढी रक्सी खान्छन् होला । तर, बाहिर अन्तर्वार्तामा बिहा-भोजमा थोरै मात्र करले खान्छु भन्छन् । त्यस्तो भन्नुभन्दा त बरु नबोलेकै जाती ।’

उनी साथीभाइहरु जम्मा गरेर कतै खुला र शान्त ठाउँमा बार्बिक्यु पनि गर्न रुचाउँछन् ।

महँगो मान्छे, महँगा सौख

सिङ्गल मल्ट जस्तो महँगो ह्विस्कीका पारखी गायकको अरु सौख पनि कम महँगा छैनन् । कतै औपचारिक कार्यक्रम हुँदा हीराको औंठी, कुण्डल उनले लगाएकै हुन्छन् । छातीको बायाँ भागमा ब्याच जस्तै हीराको क्रस खुकुरी टाँस्छन् । यो ब्याचलाई उनी वीर नेपालीको परिचायक मान्छन् ।

उनमा हीराको सौख हुनुको कारण खोतल्दा उनको बुवा भुवनेश्वर अमात्यसम्म पुग्नुपर्ने हुन्छ । राजा त्रिभुवनको पालामा राजदरबारसम्म भुवनेश्वरको सोझो पहुँच थियो । उनी रानीहरुका लागि गहना डिजाइन गर्थे । त्यसले छोरा योगेश्वरलाई पनि गरगहनाप्रति रुचि बढायो ।

यही रुचि बढ्दै जाँदा उनले गहना डिजाइनसम्बन्धी औपचारिक अध्ययन नै गरे । उनले जेमालोजीमा डिप्लोमा गरेका छन्, जेम्स र डायमण्डबारे । डायमण्ड ग्रेडिङबारे पनि उनले पढे । आफूले लगाएको औंठी, कुण्डल र छातीको क्रस खुकुरीको डिजाइन उनैले गरेका हुन् ।

‘यी सबै मैले महँगो छ भनेर हैन, त्यसप्रति आत्मीयता भएर अनि मजा लाग्ने भएर लगाएको हुँ,’ उनले प्रष्ट रुपमा भने ।

जेमालोजीको रुपमा माइक्रोस्कोपबाट पन्ना वा माणिकभित्र पस्दा उनलाई समुद्रमा सयर गरे जस्तो अद्भूत अनुभूति हुन्छ । पन्ना हेरेर कुन देशको हो भन्न सक्छन् उनी ।

हीराको औंठी लगाएका उनले देब्रे कानमा दुइटा कुण्डल झुन्ड्याएका छन् ।

यसको मूल्य हत्तपत्त खुलाउन चाहँदैनन् ।

सादगी पारामा भने,’यति रुपैयाँ पर्छ भनेर मोल भन्यो भने पैसा नहुनेहरुको बेइज्जत गरेको जस्तो हुन्छ । म कसैको चित्त दुखाउन चाहन्नँ ।’

उनले जमानामा अमेरिका पढ्दादेखि कुण्डल लगाउन थालेका हुन् । जमानादेखि एउटा कानमा मात्रै लगाए । पहिले दायाँ कानमा लगाएका थिए । तर, बुझ्दै जाँदा दायाँ हैन, बायाँ कानमा लगाउनुपर्छ भन्ने थाहा पाए । दायाँ कानमा समलिंगीहरुले म समलिंगी हुँ भनेर जनाउ दिन लगाउने प्रचलन उनले बुझे ।

मानिसको शरीरमा दायाँ र बायाँ भागमध्ये दायाँ हिस्सा सिर्जनशील र बायाँ तर्कशील पाटो हुन्छ । उनले तर्कशील भागलाई भारी बनाउन दुवै कुण्डल बायाँ कानमा लगाएका छन् ।

पहिला तीन वटा कुण्डल लगाएका थिए । पछि एउटा निकाले ।

तर्कशील पल्ला भारी बनाएका यी गायकले हीरा, पन्ना जस्ता गहना महिलाले भन्दा पुरुषले बढी लगाउने तर्क गरे । यसको उदाहरण नै अघि सारे, ‘बुद्धको फोटो वा मूर्ति हेर्नुभयो भने कान एकदमै तलसम्म लत्रिएको देखिन्छ, त्यसको प्रतीकात्मक अर्थ चाहिँ त्यो एकदमै धनी र घरानियाँ परिवारको हो भन्ने हो । अर्थात् पहिला धेरै गरगहना लगाएर कान लत्रिएको हो ।’

खुकुरीको ब्याच भने उनले चार वर्षअघि बेलायत जाँदादेखि लगाउन थालेका हुन् । वीर गोर्खालीको पहिचान झल्काउन र त्यसबारे त्यहाँ बहस होस् भनेर उनले लगाएका थिए ।

ब्याच देखाउँदै भने, ‘सार्थक र सुहाउँदो हुने भएकोले खासगरी नेपाली पोशाकमा यो ब्याच लगाउँछु ।’

दामी घडी, ठिक्क समय

गरगहनामा खर्च गर्नुलाई योगेश्वर लगानी मान्छन् । घडीहरुप्रतिको सौखलाई पनि सोही रुपमा अथ्र्याउँछन् । उनी महँगा घडी जोर्न प्रयत्नरत रहन्छन् ।

‘घडी यस्तो किन्नुपर्छ, अहिलेभन्दा पछि राम्रो भाउ आओस्’, उनले भने ।

घडीको कुरा निस्किँदा पुरानो कुरा सम्झिएर चुकचुकाए । श्रीमतीले दुइटा घडी हराइदिएको व्यथा आलै छ । घडी सफा गर्न श्रीमती ट्याक्सीमा गएकी थिइन्, ट्याक्सीमा छोडिछन् । जसमध्येको एउटा घडी उनले बुवाबाट पाएका थिए, जुन राजा त्रिभुवनले बुवालाई बिहेको उपहारस्वरुप दिएका रहेछन् । अर्को घडी चाहिँ उनले अमेरिकामा बस्दा किनेका थिए ।

‘त्यसरी घडी हराएपछि त घडीको भोग झन् लाग्यो । मोहभन्दा पनि भोग नै भन्छु । मोह त एकछिनम आएर एकछिनमै जान्छ । भोग सधैं रहिरहन्छ ।’

समय हेर्ने घडी किन महँगो चाहियो त उनलाई ?

नेपालीहरु हरदम घर-घडेरीको पछि कुदिरहेको देख्दा आफू घडीको मायामोहमा पर्नुको उनले गजब कारण दिए । उनी सोच्छन्, घडीहरु पनि आफ्नो सन्ततिलाई छाडेर जाने चिज हो ।

घडी वैकल्पिक लगानी हो भन्दै उनले घडीको स्तरमा समयको गुणस्तर जोखे,’मेरो विचारमा घडी जति राम्रो भयो, त्यति नै समय ठिक्क दिन्छ । नराम्रो घडीले कहिले पनि राम्रो समय दिँदैन ।’

घडीसँगै उनी घरमा विभिन्न कलाकारका चित्रकला भित्र्याउन पनि व्यग्र रहन्छन् । उनी नेपाली चित्रकारहरुको चित्र किनिरहेका हुन्छन् ।

उत्तम नेपाली, शम्भुमान श्रेष्ठ, पौभा कलाकार लोक चित्रकारको कला किनेर राखेका छन् । अझ उनको चाहना छ, लैनसिंह बाङ्देल, शशि शाह जस्ता दिग्गज कलाकारको एक-एक वटा चित्र पाए राम्रो हुन्थ्यो ।

उनी कहिले ग्यालरी र कहिले बाहिरबाट चित्र किन्ने गर्छन् । पछि मूल्य बढ्छ भनेर आफूले लगानी गरेकेा उनी सुनाउँछन् ।

‘त्यो त इन्भेष्टमेन्ट मात्र हैन, डबल बम्पर हो । एक त त्यसरी चित्र किन्दा नेपाली कलाकारलाई प्रोत्साहन पनि हुन्छ । अर्को कुरा, अहिले दुई रुपैयाँ परेको चिज पछि १० रुपैयाँ पनि हुन सक्छ ।’

पहिरनको कुरामा उनी औपचारिक कार्यक्रममा जाँदा चिरिच्याट्ट भएर गए पनि बिलकुल अनौपचारिक लुगामा सजिलो महसुस गर्छन् । अनौपचारिक र खुला लुगा लगाएरै उनले धेरै ठाउँमा स्टेज तताएका छन् ।

‘मलाई मन पर्ने पहिरन चाहिँ ह्वार्लाङ्ग परेको हाफपेन्ट, गञ्जी र क्यानभर्स जुत्ता हो । त्यसले मलाई एकदम स्वतन्त्र महसुस गराउँछ । त्यो लगाउँदा राम्रो गाउन सक्छु, बढी रिल्याक्स हुन्छु ।’

आफू स्वतन्त्र हुन चाहने योगेश्वर समाजबाट सामाजिक सहयोगमा पनि जुटिरहेकै हुन्छन् । उनले लन्डनको निकै प्रतिष्ठित मानिने रोयल अल्बर्ट हलमा दुई वर्षअघि गाउने मौका पाए । रानी भिक्टोरियाले एक जमानामा बनाउन लगाएको ऐतिहासिक हलमा त्यसरी गाउने सौभाग्य पाउने उनी पहिलो नेपाली गायक हुन् । नेपाल र बेलायतको दौत्य सम्बन्धको दुई सय वर्षगाँठको अवसरमा भएको कार्यक्रमका गाएर उनले नेपालका भूकम्पपीडितहरुका लागि सहयोग संकलन गरेका थिए ।

पप हैन, झ्याउरे गायक हुँ

योगेश्वरलाई श्रोताले पपगायकको रुपमा चिन्छन् । तर, पप भन्दा पनि आफूले गाउने गीतहरुलाई सफ्ट रक भन्न रुचाउँछन् ।
‘जब सन्ध्या हुन्छु’, ‘लैजा चरी’, ‘क्या बोर भयो’, ‘मुटु चस्कियोु जस्ता गीतबाट अलग्गै चिनारी बनाएका यी गायकको दाबी छ,’ म त खासमा झ्याउरे गायक हुँ ।’

हुन पनि एक समय उनी ‘सालको पात टपरी गाँसेरु जस्ता विशुद्ध झ्याउरे गीत गाउँथे । झ्याउरेभन्दा पनि अझ देशभक्तिका गीतमा उनको मुटु गाँसिएको छ । देशभक्तिको गीतलाई उनी ‘लभ सङ’ भन्छन्, देशको मायाको गीत ।

नेपालमा देशभक्तिको गीतलाई रकमा गाउने पहिलो गायक आफू भएको उनको दाबी छ । ‘मलाई प्यारो लाग्छु, ‘म मरे पनि मेरो देश बाँचिराखोस्’ जस्ता गीतलाई उनले रक शैलीमा गाएका छन् ।

‘पप गायकहरुले देशभक्तिका गीत मैले गरेको भनेर दाबी गर्छन्, त्यस्तो नगरे पनि हुन्छ । मसँग प्रमाण नै छ’,  हक्की स्वरमा भने ।

बाहिर देखिने एकथरी गायकलाई उनी हात्तीको दाँत देखाउने दाँत मान्छन् । बरु अन्डरग्राउन्ड गायकहरुमा साधना, लगाव र सम्भावना देख्छन् ।

तर, उनले विडम्बनाको पाटो पनि देखेका छन्, ‘नेपालमा खेलकुदमा होस् वा संगीत क्षेत्रमा, अलिकता जिभ्रो चलाउन र खुसामद गर्न जानेन भने त्यो मान्छे अगाडि आउँदै आउँदैन ।’

योगेश्वरलाई संगीतका हरेक जनरा मन परे पनि सुगम संगीत विशेष मन पर्छ । सुगम संगीतमा पनि पुराना गीतहरु त नगाई नहुने भजन जस्तै लाग्छ । बच्चु कैलाश, फत्तेमानका गीत र नारायणगोपालको अघिल्लो चरणका फास्ट बिटका गीतहरु उनको रोजाइमा पर्छन् ।

उनले आफ्नो सांगीतिक सक्रियता पछिल्लो समय पनि बढाइरहेका छन् । पहिलेभन्दा आफ्नो संगीतमा फरकपन आएको महसुस गर्ने उनले अबको संगीत केही फरक तरिकाले ल्याउने योजना बनाइरहेका छन् ।

छिटै उनले गायकहरु ओमविक्रम विष्ट र दीप श्रेष्ठको संगीतमा गीत ल्याउने तयारी गरेका छन् । यी दुई गायक स्वर जस्तै संगीतमा पनि खारिएको योगेश्वरको बुझाइ छ ।

‘उहाँहरुका सबै गीत हिट छन् । संगीतकारहरुभन्दा उहाँहरु धेरै राम्रो संगीतकार हो ।’

मान्छेहरुले देख्दा भेषभुषादेखि संगीतको झंकारमा आधुनिकता प्रकट गर्ने योगेश्वर ज्ञानगुन र सरोकारका हिसाबमा इतिहास र संस्कृतिसँग पनि निकट छन् ।

यसको गुह्य खोले, ‘आधुनिकताभित्र इतिहास बचाइराख्नु एकदमै गजबको कम्बिनेसन हो । पारिवारिक इतिहास भएको मान्छेको आधुनिक भाव र ऐतिहासिक पाटो ठ्याक्क मिलिरहेको हुन्छ ।’